aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आलमको मुद्दामा थुनछेक बहस आइतबार पनि हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
आलमको मुद्दामा थुनछेक बहस आइतबार पनि हुने

काठमाडाैं । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको र घाइतेलाइ जिउँदै इँटा भट्टामा हालि जलाएकाे अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमको थुनछेक बहस आज सकिएन।

रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष (मुद्दाको सुनुवाई प्रकृया) अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे  बहस जारी छ।

आज सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाहरूका वकिलले सुरू गरेका थिए।

जाहेरवालाको तर्फबाट आज बरिष्ठ अधिवक्ता यूवराज संग्रौला, दिनेश त्रिपाठी, कुमार शर्मा, अधिवक्ता गोविन्द् बन्दी, आशिकराम कार्की, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र मनिषकुमार श्रेष्ठले बहस गरेका थिए।

आइतबार आलमका वकिलहरूले बहस गर्ने छन्।

आलमका तर्फबाट भने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेम बहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र योगेन्द्र बहादुर अधिकारीले गर्ने भएका छन् ।

बहस सकिएपछि आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राख्ने अदालतले निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस