aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सन् २०१९ को अन्त्यसम्म नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालनमा आउने

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शनिबार, २३ कार्तिक २०७६
सन् २०१९ को अन्त्यसम्म नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालनमा आउने

काठमाडौं । नेपाल–भारत रेल सेवा आगामी डिसेम्बरको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । लक्षित क्षेत्रसम्म नभए पनि निर्माण सम्पन भइसकेको स्थानसम्म रेल सेवा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको रेल विभागको भनाइ छ ।

नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालन गर्नको लागि सन् २०१० मा जलपाइगुढीदेखि काँकडभित्ता, जोगवनी–विराटनगर,  जयनगर– बर्दिबास, नौतनवा– भैरवा र नेपालगन्जतर्फ गरी ५ वटा नाकामा सम्झौता भएको थियो । 

पाँच वटामध्ये हाल दुई स्थानमा निर्माण कार्य जारी रहेको छ । जोगवनी विराटनगर र जयनयरदेखि बर्दिबाससम्म निर्माण भइरहेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर एवम् प्रवक्ता अमन चित्रकारले जानकारी दिए । 

क्रस बोर्डर रेलको जयनगरदेखि कुर्तासम्म निर्माण सम्पन्न भइसकेको छ । ३४ किलोमिटर रेलमार्ग रेल सञ्चालन गर्ने उद्देश्यले निर्माण कार्य अगाडि बढाइरहेको चित्रकारले बताए । 

भौतिक निर्माणको लागि भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल सञ्चालन हुन लागेको हो । यस रेल मार्ग निर्माणको लागि नेपाल सरकारले जग्गा उपलब्ध गराउने, जग्गाको मुआब्जा दिने र राजस्व छुट गर्ने काम गरेको चित्रकारले जानकारी दिए । 

उक्त रेल भारतको सरकारी कम्पनी कोकन रेलवे करपोरेसनसँग सम्झौता भएको हो । क्रस बोर्डर रेल सञ्चालन गर्नको रेल खरिद प्रक्रिया भइरहेको चित्रकारले बताए । उनले भने–‘रेल सञ्चालन गर्नको लागि नेपालमा अनुभवी दक्ष जनशक्तिको अभाव छ । तत्कालको लागि भारतबाट नै जनशक्ति हायर गरेर ल्याउने र एक दुई वर्षमा नेपालकैै कर्मचारीको क्षमता अभिवृद्धि गरेर यहीबाट जनशक्ति उत्पादन गरेर आफ्नै मेनपावरबाट रेल गुडाउने योजना बनाएका छौं ।’ 

एक दुई वर्षमा नेपालकै जनशक्ति उत्पादन गरेर आफ्नै मेनपावरबाट रेल गुडाउन सक्ने हुन्छौं । अहिले खरिद गर्न लागेको रेलक डिजेल इलेक्ट्रीफाई मल्टिपल युनिट रहेको छ । 

उक्त रेलको एउटा  सेटमा  ५ वटा डब्बा हुने छ । त्यसमा अगाडिको डब्बामा इन्जिन लाग्छ त्यसभन्दा पछाडि मान्छे बस्ने कोच हुने चित्रकारको भनाइ  यसले एकपटकमा ११ देखि १२ सय यात्रुलाई सेवा प्रदान गर्न सक्छ । यस्तो रेल २ सेट खरिद गर्ने प्रक्रियामा रहेको छ । 

यो प्रोजेक्ट लागत शुरू हँुदा जयनगरदेखि बर्दिबाससम्म ५ सय करोडको थियो तर अहिले जग्गा उपलब्ध गराउन नसकेको कारणले प्रोजेक्टमा ढिलाइ भएका कारण बढेर ७ सय करोड पुगेको रेल विभागले जनाएको छ । जयनगरदेखि कुर्तासम्मको ३४ किलोमिटरको काम भइसकेको छ ।

भिजनपुरा भन्ने ठाउँमा पनि काम भइसकेको छ । अब भिजनपुराबाट बर्दिबासतिरको खण्डमा मुआब्जा वितरण बाँकी रहेको चित्रकारले बताए ।

प्रतिक्रिया दिनुहोस