काठमाडौं । सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पुर्याएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए।
सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ। सोही उद्देश्य अनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र सम्झदारीका लागि आवश्यक मस्यौदा आदानप्रदान गरिरहेको हो ।
श्रम सम्झौता लागि नेपालले पठाएको मस्यौदा ओमानबाट आइसकेको बताइएको छ। उक्त मस्यौदालाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि दुई देशबीचको श्रम सम्झौता हुने बताइएको छ। मन्त्रालयले २०७५ कात्तिक १२ मा मलेसियासँग श्रम समझदारी (एमओयू) गरेयता अन्य मुलुकसँग पनि श्रम सम्झौता गर्न गति बढाएको छ ।
मन्त्रालयले भदौमा कोरियासँग पुनः श्रम सम्झौता र जापानसँग एमओसीमा सहमति गरेको थियो। हाल मन्त्रालयलले कतार, युएई, पोल्याण्ड र बहराइनसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने प्रयास गरिरहेको छ।
युवालाई वैदेशिक रोजगारीमा पठाउनुअघि श्रम सम्झौता गर्नुपर्ने आवाज उठ्दै आए पनि लामो समयदेखि गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने कार्य सफल हुन सकिरहेको थिएन । श्रम सम्झौता नहुँदा गन्तव्य मुलुकका सरकारले कानुनतः नेपाली कामदारलाई चिन्दैनन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस