aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

बागलुङ। सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो ।

स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट नौ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए ।

यसबाहेक संघीय सांसद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराएका थिए ।

२०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।

२२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पुर्याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुङ्गाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् ।

जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस