aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कालिगण्डकी करिडोरको निरीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
कालिगण्डकी करिडोरको निरीक्षण

गलकोट । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डको कार्यप्रगतिको शनिबार  सरकारी प्रतिनिधिमण्डलले निरीक्षण गरेको छ । 

करिडोरको भैतिक तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, अर्थ मन्त्रालयका सहसचिव उद्धवकुमार खत्री, रक्षा मन्त्रालयका सहसचिव जीतबहादुर सुनुवार, नेपाली सेना निर्माण कार्यदल निर्देशनालयका प्रमुख रामधर श्रीषलगायतको टोलीले स्थलगत निरीक्षण गरेका हुन् । 

विसं २०७० वैशाखमा नेपाली सेनाको निर्माण कार्यदलले जिम्मा लिएको सडकको ट्र्याक निर्माण सम्पन्न भएको छ । बागलुङ खण्डको ३५ किलोमिटर सडक निर्माण असार मसान्तसम्म सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिने कालीगण्डकी करिडोर निर्माण कार्यदलका इञ्जिनीयर रेशमीराज भट्टराईले जानकारी दिए । 

करिडोरको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा गर्ने काम सम्पन्न गरेको सेनाले पुनः विमानस्थलदेखि जैमिनी नगरपालिका–६ सम्म १० किलोमिटर सडक चौडा पार्ने काम शुरु भएको छ । बजेट व्यवस्थापन गर्नका लागि भौतिक तथा पूर्वाधार, अर्थ मन्त्रालय र सडक विभागको टोली सडक निरीक्षणका लागि आएको सचिव कार्कीले बताए । “सबै काम सक्नेगरी सेनाको जिम्मा लगाएका छौँ”, उनले भने । 

कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि गत आवमा सरकारले रु २० करोड विनियोजन गरेको थियो । करिडोरलाई १० मिटर कायम गर्न बागलुङ र गुल्मी खण्डमा रु २० करोड विनियोजन गरिएको थियो । सडक स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्जुस्याइँ नगर्ने सडक विभागका महानिर्देशक शर्माले बताए । विसं २०७६ असारसम्म बागलुङको सबै खण्ड स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्ने गरी सेनाको जिम्मा लगाइएको हो । 

बागलुङ खण्डको ट्र्याक खोल्न रु ४३ करोडभन्दा बढी खर्च भएको छ । करिडोरअन्तर्गत सबैजसो खोलामा बेलीब्रिज हालिएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारबाहनका लागि महत्वपूर्ण बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्म ४३५ किमी लामो यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने छ ।

प्रतिक्रिया दिनुहोस