aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राज्यमन्त्री विरुद्ध किर्ते तथा ठगिको मुद्दा, पदबाट राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
राज्यमन्त्री विरुद्ध किर्ते तथा ठगिको मुद्दा, पदबाट राजीनामा

घनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले आइतबार पदबाट राजीनामा दिएका छन्। 

आफूविरुद्ध किर्ते र ठगी आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनले राजीनामा दिएका हुन् । कञ्चनपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको सेयर बिक्री गर्दा सरकारी कागजात किर्ते तथा ठगी कार्य गरेको आरोप उनीमाथि छ।

‘ममाथि षड्यन्त्रपूर्वक आरोप लगाइएको हो। अदालतमै मुद्दा दर्ता भइसकेपछि छानबिनमा सहज होस् र न्याय स्थापित होस् भनेर राजीनामा दिएको हुँ,’ रावलले भने, ‘१० वर्षअघि जनज्योतिमा मैले पनि सेयर हालेको थिएँ । तर सञ्चालक समितिले जिम्मेवारीपूर्ण तरिकाले काम नगर्दा समस्या भएको हो  । 

 उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत छानबिन गरिरहेको छ । उनी कञ्चनपुर(क) बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । उनको राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

रावलसहित ३६ जना सेयर सदस्यका नाममा अदालतमा मुद्दा छ। उनीहरूमाथि कागजात किर्ते गरेको, सेयरको अस्वाभाविक मूल्यांकन गरी लाभांश रकम फिर्ता लगेको, चुक्ता पुँजी दाखिला नगरेको र प्रक्रियाबिना प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने क्रममा ठगी गरेको आरोप छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस