aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

व्यवसायी ज्योति थप पाँच दिन हिरासतमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
व्यवसायी ज्योति थप पाँच दिन हिरासतमा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ज्योति समूहका उपाध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री डा. रूप ज्योतिलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

अदालतले उनकी छोरी सुरुचि ज्योतिलाई पनि पाँचै दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले प्रहरीलाई यस्तो अनुमति दिएको हो । 

अदालतले गत शुक्रवार उनीहरूमाथि अनुसन्धान गर्नका लागि ३ दिनको समय दिएको थियो । आइतवार उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले ज्योतिका बाबु छोरी दुवै जनालाई थुनामा राखेर नै अनुसन्धान गर्न अनुमति दिएको हो। 

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले उनीहरूमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अदालतले थुनामा नै राखेर अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद दिएको छ । हामीले प्रक्रियागत रूपमा नै अनुसन्धान अगाडि बढाएका छौं ।’ 

प्रहरीले गत बिहीवार ज्योतिका बाबु छोरीलाई सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । विज्ञेन्द्रकृष्ण मल्लले जग्गा कारोबारमार्फत रू. १ करोड ३६ लाख ७५ हजार ठगी गरेको भन्दै २०७५ मङ्सिर १६ गते उनीहरूविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस