
विराटनगर । अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँचको क्रममा विराटनगर–१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र पछाडि बस्ने भारत जोगबनी–१७ का १९ वर्षीय बिक्की कुमारबाट शुक्रबार रु सात लाख बरामद भएको हो जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँले जानकारी दिए।
प्रहरीले सोधपुछको क्रममा उक्त रकम विराटनगरका एक व्यापारीलाई बुझाउन प्रति रु एक लाख बराबर रु १०० पारिश्रमिक पाउनका लागि ल्याएको बताएका छन् । निजहरुलाई थप आवश्यक अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय विराटनगर रानी बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस