
काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे ठगीको मुद्दा चलाउने चेतावनीे दिएका हुन् ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले नमिलाएमा विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जाने प्रष्ट गरे ।
१५ दिनभित्र विद्यार्थीका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी गरेको छ ।
तालाचाबी बुझाइदिने धम्की दिँदैमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने भन्दै मन्त्री पोखरेलले कानून सबैका लागि लागू हुने प्रष्ट गरे ।
विद्यार्थीका माग सम्बोधन गरेपछि भने शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको पनि उनले बताए । अभिभावक र विद्यार्थीलाई गुपचुप रुपमा असमान शर्तहरु नस्वीकार्न उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस