काठमाडौं । संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरूपअनुसार रूपान्तरण गर्न थालेको छ ।
यसको प्रारम्भिक कार्यका रूपमा प्राधिकरणले आफ्नो वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरूलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिसकेको छ ।
नवगठित प्रादेशिक कार्यालयहरूले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनी मोडलमा लैजाने योजना प्राधिकरणको हो । यसअघि विद्युत् उत्पादनलाई कम्पनी मोडलमा प्राधिकरणले लगिसकेको छ ।
प्रादेशिक कार्यालयहरूलाई नै कम्पनीमा रूपान्तरण गर्ने वा नयाँ कम्पनी खोल्ने भन्ने टुंगो नलागिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्रस्तावित विद्युत् ऐनको मस्यौदाअनुसार ऐन लागु भएको एक वर्षभित्र प्राधिकरण अन्तर्गतका विद्युत् उत्पादन, प्रसारण तथा वितरणका लागि अलग-अलग संस्था स्थापना गर्नुपर्ने छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस