काठमाडौं । डडेल्धुरामा अनशनरत डा गोविन्द केसीलाई सोमबार विर अस्पतालमा ल्याउन भनेर दिनभर तयारी गरिएको थियो ।तर, सोमबार डा केसीलाई सरकारले ल्याउन सकेन । मंगलबारका लागि पनि विर अस्पतालमा सबै कर्मचारी विषेश गरेर स्वास्थ्यकर्मीहरुलाई दिनभर सतर्क रहन निर्देशन दिएको छ । विर अस्पताल प्रशासनले कुनै बेला पनि डा. केसीलाई विरमा ल्याइने भएकाले अस्पतालको एउटा बेड तयारी राख्ने निर्देशन दिएको विरमा कार्यरत एक कर्मचारीले बताए ।
त्यस्तैगरि, विर अस्पतालको एउटा एम्बुलेन्स पनि स्ट्याण्डबाइ राखिएको छ । डा. केसीको स्वास्थ्य अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिएपछि सरकारले डा. केसीलाई ल्याउन डडेलधुरा गएको हेलिकप्टर सोमाबर रित्तै आएको थियो ।
डा. केसीको स्वास्थ्य अबस्था नाजुक हुँदै गएकाले सोमबार बिहान स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएका मुख्यमन्त्री भट्टले डा केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनशन तोड्न आग्रह गरेका थिए ।
डा केसीका सकारात्मक मागलाई सङ्घीय सरकारमा पु¥याउन सुदूरपश्चिम प्रदेश सरकार पहल गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था नभएसम्म आफूले अनशन नतोड्ने डा केसीको अडान छ ।
अनशनरत डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सर्वसाधारणले सडक बन्द गरेका छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकाप्टर डडेल्धुरा पुगेपछि सर्वसाधारणले विरोध जनाउँदै सडक बन्द गरेका हुन् ।
अनशनरत डा केसीको माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा असपतालमा आवश्यक व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न भन्दै डक्टर सोसाइटी अफ नेपालले प्रेस वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा चिकित्सा शिक्षाको लामो सङ्घर्ष थुपै्र आरोह–अवरोहपछि फेरि एकपटक संवेदनशील मोडमा आइपुगेको जनाउँदै डक्टर सोसाइटीले १६औँ अनशनपश्चात् राज्यद्वारा प्रतिबद्ध माग पूरा नभएकाले कात्तिक १८ गतेदेखि डा केसीले डडेल्धुराबाट १७औँ पटक अनशन थालेकाले आज आठ दिन पुगिसक्दा पनि राज्यका तर्फबाट कुनै पहलकदमी नहुनु अत्यन्तै खेदपूर्ण रहेको उल्लेख छ ।
प्रेस वक्तव्यमा भनिएको छ, “डा केसीको रगतमा चिनीको मात्रा, अक्सिजन जस्ता सूचाङ्क तलमाथि भइरहेको अवस्था छ । डडेल्धुरा अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको अभावले उक्त विषम परिस्थिति खडा गरेको छ । दैनिक सयाँै बिरामी आउने अस्पतालमा समायोजन कार्यान्वयन भएसँगै हाल तीनजना चिकित्सक मात्र कार्यरत भएको हुँदा तत्काल अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरी सुविधा सम्पन्न बनाउनुपर्ने अवस्था छ । डा केसीको माग र इच्छालाई सम्मान गर्दै राज्यले तत्काल सम्बोधन गर्नु पर्नेछ ।”
डा तोसिमा कार्मी, डा कालुसिंह खत्री, डा पुष्पमणि खराल र डा कविराजद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा लेखिएको छ–‘१५औँ अनशन झैँ राज्यले अपहरणशैलीमा सत्याग्राहीलाई उठाउनु खोज्नु अत्यन्त खेदपूर्ण छ । राज्यले बल प्रयोग गर्नुभन्दा समाधानतर्फ अग्रसर हुन जरुरी छ । कुनै पनि बहानामा राज्यले सम्बोधनतर्फ भन्दा मुठभेडतर्फ अग्रसर हुनु भोलिका दिनमा राज्यलाई अझै क्षति हुनेछ ।’
डा केसीका माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न विज्ञप्तिमार्फत जोडदार अपिल गरिएको छ ।
डा केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्किएको छ । डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयवासीले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकप्टर रित्तै फर्किएको हो । अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उहाँलाई काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । सहमति विपरीत डा केसीलाई लैजान नदिने भन्दै स्थानीयवासीले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस