काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नयाँ नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारतले अतिक्रमण गरेको भनिएको भू-भाग समेत समेटेर नयाँ नक्सा जारी गर्न समितिको सोमबार बसेको बैठकले सरकारलाई निर्देशन दिएको हो। नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राख्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप भएको निष्कर्ष पनि बैठकले निकालेको छ ।
भारतको सो कार्यविरुद्ध अविचिलित र दढ रहन समितिले सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकपछि। सरकारका नाममा १० बँदे निर्देशन जारी गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
‘नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्नुका साथै हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुराको मुहान काली नदीसम्मको भूभाग समावेस गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकालाई निर्देशन दिने समितिको निर्देशनमा भनिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस