काठमाडौं । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरेको छ।
दराजमार्फत एक थोक सामान अर्डर गर्दा अर्को सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको विभागले जनाएको छ।
विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पूर्जी काटेको थियो। ‘उजुरी परेपछि अनुगमन, गरेका थियो,’ विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दियौं।’ दोस्रो चरणमा कम्पनीको कागजपत्र अध्ययन गर्ने उनले बताए।
विभागका निमित्त महानिर्देशक नोखबहादर बस्यालका अनुसार दराजविरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो। उजुरीकर्ताले मिनी फोकस ब्रान्डका घडी अर्डर गर्दा फ्रोस ब्रान्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन् । सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो । दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरूसँग छलफल गरेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस