काठमाडौं । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रूपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।
उजुरीपछि केन्द्रले समिति बनाएर छानबिन थालेको थियो । यी कलेजले शैक्षिक वर्ष २०१४ देखि २०१८ सम्ममा विभिन्न शीर्षकअन्तर्गत अतिरिक्त शुल्क असुल गरेको केन्द्रको दाबी छ ।
केन्द्रले नेसनल मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सले लिएको शुल्कबारे अध्ययन गरेको थियो । यो समाचार आजको राजधानी दैनिकम प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस