
बेनी । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् ।
बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताए ।
उनले सञ्चालन गर्नुभएको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका २ लाख ९० हजार रुपैयाँ खर्चिएर खरीद गरेको जानकारी दिए ।
रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याएका थिए ।
विगत पाँच वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई १ लाखदेखि २ लाख रुपैयाँसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस