काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट पाउने श्रम स्वीकृतिको स्टीकर अब इमेलमार्फत नै पाउने भएका छन् ।
उक्त विभागले मंगलवारदेखि कामदारलाई राहदानी (पासपोर्ट) मा टाँस्ने स्टीकरको सट्टा ई-स्टीकर दिन शुरू गरेको छ, जसअनुसार कामदारले आफ्नो इमेलमार्फत नै श्रम स्वीकृतिको स्टीकर पाउने भएका हुन् । योसँगै वैदेशिक रोजगारीको श्रम स्वीकृति लिँदा पासपोर्टमा स्टीकर टाँस्ने प्रचलनको अन्त्य भएको छ ।
कामदारले इमेलमार्फत प्राप्त हुने इ-स्टीकर प्रिन्ट गरेर वा मोबाइलमै राखेर त्रिभुवन विमानस्थलको अध्यागमन लगायतका आवश्यक ठाउँमा देखाउन सक्नेछन्। साथै, कामदारले श्रम स्वीकृतिका लागि श्रम कार्यालयमा एकपटक मात्र पासपोर्ट बुझाए हुने भएको छ ।
ई-स्टीकरमार्फत श्रम स्वीकृति लिएका कामदारले अर्को पटक स्वीकृति लिँदा सम्बद्ध कार्यालयमा पासपोर्ट नम्बर मात्र बुझाए हुनेछ । त्यसपछि निजको इमेलमा नै श्रम स्वीकृतिको ई-स्टीकर पठाउने व्यवस्था गरिएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस