काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री सहरमा मठमन्दिर र बाटो कब्जा गरेर सञ्चालन भइरहेका फटपाथ पसल हटाउने अभियान नै सुरु गरेको छ।
नगर प्रहरीले फटपाथ पसललाई निरुत्साहित गर्न सामान उठाउने, जरिवाना लिनेलगायत काम गरिरहे पनि प्रभावकारी नभएपछि आइतबारदेखि महानगरले अभियान नै चलाएको हो ।
नगर प्रहरीले पहिलो चरणमा व्यापारीलाई अनुरोध गर्दै माइकिङ गरिरहेको नगर नायब निरीक्षक प्रकाश पण्डितले बताए। ‘सभ्य नागरिक भए अनुरोध बुझिहाल्छ,’ उनले भने, ‘अहिले अनुरोध गरिरहेका छौं, नमान्ने व्यापारीलाई कारबाही गछौं ।’
असन, भोटाहिटी, इन्द्रचोक, बांगेमडासम्म फुटपाथ व्यापारीले बाटो आगेटेको र आवागमन असहज बनाएको पैदलयात्रले गुनासो गरेपछि महानगरले अभियान सञ्चालन गरेको हो । कतिपय व्यापारीले सटरको भाडा तिरेर पसलबाहिर पनि अन्यलाई पसल सञ्चालन गर्न दिइरहेको पण्डितले बताए। पहिला नगर प्रहरीले फुटपाथबाट उठाएका समान फिर्ता दिने गरेको थियो।
सिज गरिएको सामान फिर्ता नदिने निर्णय महानगरको २५ औं नगरसभाबाट भएको छ। अहिले सड्ने, गल्ने फलफूल तथा खाद्यान्नका सामान न्यूनतम पाँच सय रुपैयाँ जरिवाना लिएर फिर्ता दिइने नगर प्रहरीले जनाएको छ। अन्य सामानहरू महानगरले प्रक्रिया पूरा गरेर लिलामीमा बिक्री गर्ने गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस