aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे : दक्षिणतर्फको २ महीनाभित्रै सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे : दक्षिणतर्फको २ महीनाभित्रै सञ्चालनमा

काठमाडौं । त्रिभुवन विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महीनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईओटा ‘पार्किङ वे’ निर्माण गरिरहेको छ । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ । 

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महीनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ । दक्षिणतर्पmको पार्किङ वे असोज महीनाअघि नै तयार गर्ने भनिए पनि सामग्री आपूर्ति लगायत समस्याले केही ढिला हुन गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

अन्तरराष्ट्रिय टर्मिनलमा नौओटा विमान मात्र पार्किङ गर्न मिल्ने क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको संख्या ११ पुगेको छ । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन तथा विमानस्थलमा आइपर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक राजन पोखरेलले बताए ।

‘अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ । यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ । यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ,’ उनले भने । उत्तरपूर्वको रिमोट पार्किङ वेमा नेपाल वायुसेवा निगमको बोइङ ७५७ पार्किङ गरिएको छ । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका ३ ओटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

दक्षिणतर्फको पार्किङ वेको काम छिटो सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको र आइपरेको समस्या समाधानमा विमानस्थल कार्यालयले सहयोग गरिरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । दोस्रो पार्किङ वे निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने उनले बताए । उनका अनुसार एकमात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा अहिले त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ । दक्षिणतर्फको पार्किङ वे पनि सम्पन्न हुँदा केही सजिलो हुने र अन्तरराष्ट्रिय स्तरबाट हुने चार्टर उडानका लागि पार्किङ दिन नसकिरहेको अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।  यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस