
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीकाे अामन्त्रणमा चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवाताल यात्रा गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका थिए ।
करिब चार घण्टा पोखरामा बिताउने गरि बिहिबार बिहान नेपाली सेनाकाे हेलिकप्टर मार्फत राष्ट्रपति हमिद पाेखरा पुगेका थिए ।
बंगलादेशका राष्ट्रपति हमिदले शुक्रबार बिहान ११ बजे काठमाडौंको चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी शुक्रबार करिब पाँच बजे स्वदेश फर्किने छन् ।
राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस