काठमाडौँ । सरकारी सेवामा प्रवेश गरेका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पुयाइने भएको छ। निजामती सेवा ऐन २०४९ मा रहेको ५८ वर्ष उमेर पुगेपछि स्वतः अवकाश पाउने व्यवस्थालाई परिवर्तन गरी उमेर हद ६० वर्ष पुऱ्याइने भएको हो।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकले निजमती सेवा ऐन २०४९ र स्वास्थ्य सेवा ऐन २०५३ लाई खारेज गर्नेगरी ल्याइएको संघीय निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकमा अवकाश उमेर ६० वर्ष राख्ने सहमति गरेको छ। बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा अवकाश उमेरलाई टुंगो लगाएको हो।
विधेयकमाथिको लामो छलफलपछि समितिको आदेशबमोजिम संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गृहकार्य गरेर ल्याएको प्रतिवेदनमा समितिले सहमति जनाएको हो। मन्त्रालयले २०१८ सालदेखि २०२० सालभित्र जन्ममिति भएका निजामती कर्मचारीलाई ५८ वर्षबाट ६/६ महिनाका दरले उमेर हद बढाएर अवकाश दिने, २०२१ साल र त्यसपछि जन्ममिति हुने कर्मचारीले ६० वर्षसम्म पदमा बस्न पाउने विषय समेटेर प्रतिवेदन ल्याएको थियो।
निजामती कर्मचारीमा मुख्यसचिवको पदावधि ३ वर्षको हुनेछ भने मन्त्रालयकोसचिवको पदावधि पाँच वर्षको हुनेछ। यी दुई अधिकारीले उमेर ६० वर्ष नपुग्दै पदावधि समाप्त भएमा स्वतः अवकाश पाउनेछन् । सहमति अनुसार २०२१ सालमा जन्म भएका कर्मचारीले ६० वर्षमा अनिवार्य अवकाश पाउनेछन् तर २०१८ सालमा जन्ममिति भएका कर्मचारीले ५८ वर्ष ६ महिनामा अनिवार्य अवकाश पाउने भएका छन्। २०१९ सालमा जन्ममिति भएका कर्मचारी ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन्। २०२० सालमा जन्ममिति भएका कर्मचारी ५९ वर्ष ६ महिना उमेर पुगेपछि अनिवार्य अवकाश पाउनेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस