काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले विधान संशोधनमा देखिएको विवाद अन्त गरेसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भावी अध्यक्ष हुने निश्चित भएको छ। महासंघको बिहीबार बसेको समितिको बैठकले विधान संशोधनका लागि आएको प्रस्ताव तत्काललाई रोक्ने निर्णय गरेपछि विवाद टुंगिएको हो।
विधान संशोधनका लागि शुक्रबार विशेष साधारणसभा बोलाइएको थियो। यो सभा पनि अब नहुने भएको छ। बैठकले विधान संशोधन नगर्ने प्रस्ताव पारित गरेको हो। महासंघको अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भए पनि विधान संशोधन गरेर यो व्यवस्था हटाउने चलखेल भएको थियो। ' अध्यक्षको प्रत्यक्ष निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको व्यवस्थालाई कायम राख्ने निर्णय भएको छ।
आगामी साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने महासंघकी अध्यक्ष राणाले बताइन् । 'विधान संशोधनको विवाद टुंगिएको छ' उनले भनिन्। विधान संशोधनको विषयलाई लिएर केही विवाद देखिए पनि निजी क्षेत्र एक ढिक्का हुनु आवश्यक भएकाले अहिले उक्त विषय स्थगित गरिएको राणाले बताइन् । 'निजी क्षेत्र एक ढिक्का भएर अघि बढ्नुपर्छ,' उनले भनिन्, 'आन्तरिक विवादभन्दा आर्थिक एजेन्डा प्रमुख छन्।'
विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउन महासंघभित्रको एउटा समूहले चर्को लबिङ गरेको थियो। महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालसहितको सक्रियतामा पुनः विधान संशोधनको लागि लबिङ गरेर विशेष साधारणसभा डाकिएको थियो। बिहीबार महासंघको बैठकले औपचारिक निर्णय गरे पनि गत शुक्रबार नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई नै कायम राख्ने विषयमा महासंघको विधान संशोधन समितिबीच सहमति भएको थियो। विधान संशोधन गर्न महासंघका पूर्वअध्यक्ष ढकालको संयोजकत्वमा समिति गठन भएपछि चर्को मतभेद सतहमा आएको थियो।
पर्वअध्यक्ष पशुपति मुराराकालगायतले विधान संशोधनको विषयमा महासंघको बैठकमा लिखित रूपमा असहति प्रकट गर्दै आएका थिए। विधान संशोधन गरेर विद्यमान व्यवस्था हटाउने वा नहटाउने भन्नेमा महासंघभित्र चरम ध्रुवीकरण रविवाद भए पनि अन्ततः साबिककै व्यवस्थालाई निरन्तरता दिन अध्यक्ष राणा सफल भएकी छिन् । राणाले समन्वयकारी भूमिका खेलेर विवादलाई 'सेफ ल्यान्डिङ' गराइन् । राणा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि विधानमा भएको व्यवस्था अनुसार स्वतः अध्यक्ष भएकी थिइन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस