काठमाडौँ । चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको सरकार बजेट कार्यान्वयनको चार महिना पनि नबित्दै आफ्नै लक्ष्यबाट पछि हटेको छ । केही दिनअघि विश्व बैंकले दक्षिण एसियामा आर्थिक मन्दीको अवस्था भयावह भएको र त्यसको असर नेपालमा पनि पर्ने भन्दै नेपालको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको थियो ।
विश्व बैंकले प्रक्षेपण घटाएको केही दिनपछि सरकार पनि आफ्नै लक्ष्यबाट पछि हट्दै चालू आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रारम्भिक अनुमान गरेको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको बताएका थिए।
अर्थ मन्त्रालयले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५(३) को प्रयोजनार्थ चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ७.१ प्रतिशत हुने अनुमान गरिएको बताएको छ । आर्थिक वर्ष सुरु भएको तीन महिनाको तथ्यांकलाई मूल्यांकन गर्दा सात प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हासिल गर्नसकिने भएकोले मन्त्रालय लक्ष्य संशोधनको निष्कर्षमा पुगेको स्रोत बताउँछ ।
यद्यपि अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य साढे आठ प्रतिशत नै रहेको दावी गरे । “भर्खर चार महिना हुँदैछ, छ महिना नभइ संशोधन गर्न मिल्दैन,” उनले भने “यो गत आर्थिक वर्षको लक्ष्य हो, चालू आर्थिक वर्षको वृद्धिको लक्ष्य साढे आठ प्रतिशत नै हो ।” उनले गत वर्ष हासिल गरेको लक्ष्य सार्वजनिक गरिएको बताए । मन्त्रालयले सार्वजनिक गरेको विवरणमा चालू आर्थिक वर्षको भदौ र असोज सम्मको तथ्याँक अद्यावधिक गरिएको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस