
रौतहट । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दामा हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस जारी छ ।
आलमको पक्षमा हालसम्म १७ जना अधिवक्ताले बहस गरिसकेका छन् । हिजो ६ जना अधिवक्ताले बहस गरेकोमा आज बाँकीले बहस गरिरहेका छन् । गत विहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।
सरकार र जाहेरवालातर्फका कानुन व्यावसायिको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्न सक्ने अदालतले जनाएको छ ।
थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस