aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

समयमा निर्माण नसक्ने ४५ ठेक्का तोडिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० कार्तिक २०७६
समयमा निर्माण नसक्ने ४५ ठेक्का तोडिँदै

काठमाडौं । सडक विभागले समयमै निर्माण नसक्ने ४५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । लामो समयदेखि ‘समस्याग्रत’ बनेका ठेक्का तोड्ने प्रक्रिया थालिएको विभागले जनाएको छ । 

‘समस्या देखिएका र प्रगति नभएका ठेक्का नियमअनुसार तोडिएका छन,’ विभागमा महानिर्देशक केशवकुमार शर्माले भने, ‘केही प्रक्रियामा छन् ।’ उनका अनुसार यसअघि ४५ वटा ठेक्का तोडिसकिएको छ। तोडिएका अधिकांश ठेक्का सडक निर्माणका छन् । यसरी ठेक्का तोडिएका ठाउँमा निर्माणका लागि नयाँ प्रक्रिया सुरु गरिनेछ। ‘केही ठेक्का भएर बजेट नआएपछि भुक्तानी दिन नसक्दा तोडिएका छन् ।’ विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘तर, अधिकांश ठेक्का काम नगरेकै कारण तोडिएका छन् ।’ उनका अनुसार पूर्वतयारीबिना लगाइएका ठेक्कामा धेरै समस्या छ। कतै ठेक्का भएपछि रूख, बिजुली, ढल, मुआब्जाको व्यवस्थापन गर्नुपर्ने भएकाले समस्या देखापरेको छ। कतै अदालती प्रक्रियाले गर्दासमेत काम अघि बढ्न सकेको छैन । 

त्यस्तै विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/०७६ को तथ्यांकअनुसार २ सय ३३ वटा ठेक्का पूर्वनिर्धारित समयमा नसकिएका कारण ४४ करोड ७० लाख ३४ हजार जरिवाना गरिएको छ। ‘निर्माण व्यवसायीको कमजोरीका कारण निर्माणमा ढिलाइ भए उसलाई हर्जना लगाइन्छ, यो ठेक्का सम्झौतामै उल्लेख गरिएको हुन्छ,’ महानिर्देशक शर्माले भने, ‘जसले दैनिक १ हजारदेखि १ लाखसम्म जरिवाना तिरेर काम गर्नुपर्ने हुन्छ ।’ उदाहरण हो भक्तपुरको कमलविनायक-भत्केको पाटी-नगरकोट सडक । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस