aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज हुँदैछ प्रधानमन्त्रीको तेस्रो डायलासिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० कार्तिक २०७६
आज हुँदैछ प्रधानमन्त्रीको तेस्रो डायलासिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपटक डायलासिस हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो ।

यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् । डायलासिस नियमित स्वास्थ्य परीक्षणकै एक विधि भएको पनि चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीले डायलासिस गर्दै आए पनि उनको राजनीतिक तथा प्रशासनिक सक्रियता भने झनै बढ्दै आइरहेको छ ।

प्रधानमन्त्री ओली गत ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी गत २० भदौमा स्वदेश फर्किएका थिए । त्यसअघि साउनमा पनि उनले सिंगापुरमा उपचार गराएका थिए । यो समाचार आजको राजधानि दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस