काठमाडौं । परराष्ट्र मन्त्रालयले ओमानमा दूतावास भवन बनाउन जग्गा खरिद गरेको छ। खाडी मुलुक ओमानमा नेपालले दूतावास स्थापना गरेको ६ वर्ष पनि भएको छैन।
काठमाडौंमा पनि ओमानको दूतावास छैन। तर सरकारलाई त्यहाँ दूतावास भवन खरिद गर्न किन हतार भएको भन्ने उत्तर परराष्ट्र अधिकारीसँग छैन। ‘पाँच महिनाअघि जग्गा भाडा (लिज) मा खरिदको काम भएको हो। अब भवन निर्माण प्रक्रियामा छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, २० हजार पनि नेपाली नभएको मुलुकमा किन यति हतार भन्ने प्रश्न छ। आर्थिक, रणनीतिक र कूटनीतिक हिसाबले महत्त्वपूर्ण मानिएका मुलुकमा भने दूतावास भवन नै छैन।
जापान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, मलेसियालगायत देशमा नेपाली दूतावासको आफ्नो भवन छैन। भारतपछि सबैभन्दा बढी कूटनीतिक कर्मचारी भएका न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा पनि भवन छैन। आफ्नै चान्सरी (राजदूत कार्यालय) रहेको न्युयोर्कस्थित नेपाली कर्मचारी भने भाडामा बस्दै आएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस