aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब ‘डिजिटल’ मा हुने भयो सीमास्तम्भ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
अब ‘डिजिटल’ मा हुने भयो सीमास्तम्भ

काठमाडौं । नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’ रूपमा हुनेछ ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिए ।

नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उनले जानकारी दिए । नापी विभाग प्राविधिक रूपमा आवश्यक सबै तथ्याङ्क र तथ्यसहित रहेको पनि उनले स्पष्ट पार्दै उनले भने “डिजिटल डाटाबेस तयार छ । ”

लगत लिने क्रम जारी

सन् २०१४ पछि सुस्ता र कालापानीबाहेकको क्षेत्रमा रहेका जम्मा आठ हजार ५५३ वटा पिलरको लगत लिने काम अगाडि बढाइएको हो । दुई देशको सीमा कार्यदल समूहले यसको काम गरिरहेको छ ।

सन् २०१९ सम्म सम्पूर्ण पिलरको लगत लिने काम सम्पन्न गर्न समयसीमा तोकिएको थियो । तोकिएको समय सीमासम्म काम सक्ने अवस्था नभएको हुँदा यसका लागि सन् २०२१/२२ सम्मका लागि समयसीमा तोकिएको छ । यसको काम सकेपछि आफ्ना/आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।
नापी विभागका सूचना अधिकारी दामोदर ढकालले लगत लिने काम निरन्तर अगाडि बढिरहेको जानकारी दिँदै भने, “चार हजार पिलरको लगत लिने काम भइसकेको छ । दुई हजार चार सय पिलर ठूला नदीमा पर्छन् । ” सीमाक्षेत्रमा साना–ठूला गरी ५७ वटा नदी छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस