aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

स्थानियाले हाले तीन जना वडाध्यक्षलाई अख्तियारमा मुद्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
स्थानियाले हाले तीन जना वडाध्यक्षलाई अख्तियारमा मुद्धा

काठमाडाैं । सिन्धुलीको तीनपाटन गाउँपालिकाका जनप्रतिनिधिविरुद्ध स्थानीयले मुद्दा हालेका छन् । गाउँपालिकाका २, ३ र ६ नम्बर वडाका अध्यक्षविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासमा मुद्दा हालेका हुन् ।

गाउँपालिकाको २ नम्बर वडादेखि ६ नम्बर वडासम्मका लागि खनिएको बाटोको स्तरोन्नतीका लागि विनियोजित बजेट हिनामिना तथा स्टमेट अनुसारको काम नगरेको भन्दै स्थानीयले मुद्दा दायर गरेका हुन् । स्थानीय विरपति घलानको नेतृत्वमा स्थानीयले २ का अध्यक्ष हेमबहादुर श्रेष्ठ, ३ का लालबहादुर स्याङ्तान र ६ का अध्यक्ष विरबहादुर पुलामीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

२ नम्बर वडाको भिमस्थानदेखि ३ नम्बर वडा हुँदै ६ नम्बर वडाको बालाजोरसम्मको बाटो स्तरोन्नतीका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको थियो । सोही रकमबाट केही मात्रामा काम भएपनि सन्तोषजनक रुपमा कुनै पनि वडामा काम नभएको स्थानीय घलानले बताए ।
सुरुमा योजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति गठन गर्दादेखि नै वडा अध्यक्षहरु हावी भएको र आफू निकट मानिसलाई हस्ताक्षर गर्न लगाइएको उनले आरोप लगाए । “समिति पनि एउटा कोठामा बसेर बनाए, त्यति गर्दा पनि हामी चुप लागेर बसेका थियौं,” उनले भने, “काम पनि सहि ढंगले भएन, कुनै ठाउँमा पनि स्टमेट अनुसारको काम नभएपछि मुद्दा हालेका हौँ ।” यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस