aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गृह जिल्लमै भएन प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
गृह जिल्लमै भएन प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन

दमक । झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ। बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो। झापा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा सो सडक निर्माणको काम समयमा सक्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएका थिए। तर निर्माणको काम अहिलेसम्म २५ प्रतिशत पनि सकिएको छैन।

सडक निमयमा नभएकाले भदौ ५ गते सडक बनाउने क्रममा खनेर अलपत्र छोडिएको नालामा डुबेर बिर्तामोड–१० की ६७ वर्षीय सुमित्रा राईको मृत्यु भयो। बिर्तामोड–भद्रपुर सडक निर्माणमा सरोकारवालालाई दबाब दिन स्थानीयले सडकमै धानसमेत रोपे। निर्माणाधीन सो सडकको सवालमा बिर्तामोड उद्योग वाणिज्य संघको संयोेजनमा सडकमा आन्दोलन पनि भयो। तर अहिलेसम्म सडक निर्माणले गति लिन सकेको छैन। असोज महिनाभित्र सक्नुपर्ने सडक निर्माणको म्याद थपेर पुस मसान्तसम्म पु-याइएको छ।

सडक निर्माणमा दबाब दिनेमध्येका एक सन्तोष अग्रवालले भनें, ‘सडकको यो दुरावस्था छ, हरेक दिन धुलो खाएर बस्नुपरेको छ, न व्यापार हुन्छ न त सडक नै बन्छ।’ उनका अनुसार सडक निर्माणको गति सुस्त हुँदा बटुवादेखि व्यवसायीसम्म सबैजना आजित छन्।

सडक निर्माणका लागि अहिलेसम्म सडकको दुवैतर्फ पूरा नालीसमेत बनाइएको छैन। ‘दुई महिना पनि समय बाँकी छैन तर सडकको काम २५ प्रतिशत पनि सकिएको छैन,’ सडक निर्माणबारे निरन्तर खबरदारी गरिरहेका सञ्चारकर्मी गणेश पोखरेलले भन्छन्, ‘सडककै दुर्गतिले मान्छेको मृत्युसमेत भयो, सडकको सास्ती थेगिनसक्नुको छ।’ याे समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस