काठमाडाैं । रामबहादुर चेपाङ घरमा खानेकुरा सकिदै गएपछि जोहो गर्न जुटेका छन् । उनको घरमा अचेल बेलुकी मात्र चुलो बल्छ। मकवानपुरको राक्सिराङ-७ दामराङका रामबहादुरको परिवारले गिठ्ठा खाएर बिहानको छाक टार्न थालेको दुई साता बित्न लाग्यो। 'कोदो पाक्न बाँकी छ, घरमा भएको मकै पनि सकिन लाग्यो', उनले भने, 'खानाको सट्टा दैनिक एक छाक गिठ्ठा खाँदै आइरहेका छौं ।'
उनको परिवारलाई आफ्नो बारीमा उब्जिएको अन्नपातले ६ महिना मात्र खान पुग्छ । अरू समय उनी ज्याला- मजदुरी गरेर परिवार पाल्छन्। दामराङकै सूर्यबहादुर चेपाङ पनि घाँसपातका लागि जंगल जाँदा फुर्सद मिलाएर गिठ्ठा खोजेर ल्याउँछन् । चेपाङ पुर्खाले खानेकुराकै रूपमा वर्षभरि प्रयोग गर्दै आएको गिठ्ठा उनी खाजा र अनिकालका बेला खानाको रूपमा प्रयोग गर्छन् ।
'मैले थाहा पाएदेखि नै घरमा गिठ्ठा टुटेको छैन, घरमा खानेकुरा सकिँदै गएपछि गिठ्ठाले भान्सा भरथेग गरेको छ', उनले भने। चेपाङ बाहुल्य विकट क्षेत्रमा बर्सेनि अनिकालको चपेटामा पर्ने चेपाङको वैकल्पिक खाद्यान्न हो। 'धेरै चेपाङ परिवारको आर्थिक अवस्था सुधार भएको छ, वर्षभरि खान पुग्ने पनि धेरै छन्', चेपाङ अगुवा गोविन्दराम चेपाङले भने, 'तर गिठ्ठा हाम्रो मौलिक खानेकुरा भएकाले सबै चेपाङले अनिकाल नपरे पनि खाजाका रूपमा खाने गरेका छन्।' बिहान उठेर गिठ्ठा खाँदा ग्यास्टिक हट्ने, उच्च रक्तचाप ठीक हुने र लामो समयसम्म भोक नलाग्ने उनले बताए।
पछिल्लो समय गाउँमा आउने नयाँ पाहुनालाई यस क्षेत्रका चेपाङले गिठ्ठाको परिकारले स्वागत गर्ने चलन पनि बढेको छ। चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहको छ। “सामुदायिक वनभित्र गिठ्ठा, कोइरालोलगायत कन्दमुल संरक्षण गरिरहेका छौं', गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने। गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ। 'गाउँपालिको जनसंख्याको ७० प्रतिशतभन्दा बढी चेपाङ छन्', मल्लले भने, 'संरक्षित क्षेत्र घोषणा गरिदिए चेपाङको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम गर्न सजिलो हुने थियो।' यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस