aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकालाई उल्टो लात्ती, भारत पर्यो थला, नेपाल चाहिँं निदाइरहने हो  ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
अमेरिकालाई उल्टो लात्ती, भारत पर्यो थला, नेपाल चाहिँं निदाइरहने हो  ?

काठमाडौं । आर्थिक वर्षको पहिलो चार महिना सकिन नभ्याउँदै सरकारले आफ्नो आर्थिक वृद्धिको लक्ष्य घटाउने निर्णय गरिसकेको छ । विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय संस्थाले एसियाका सबैजसो मुलुकमा विश्वव्यापी रुपमा देखिएको आर्थिकमन्दीको असर पर्ने बताइरहेका बेला नेपाल सरकारले समेत आफ्नो आर्थिक वृद्धिको लक्ष्य ८.६ प्रतिशतबाट ७.२ मा झार्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालय यस्तो निष्कर्षमा पुगिसकेको भए पनि नेपाललाई सम्भावित आर्थिकमन्दीको शिकार हुन नदिन के गर्ने भन्ने बिषयमा चाहिँ गम्भीरता देखिएको छैन । के नेपालले आर्थिकमन्दीबाट मुलुकलाई पर्न सक्ने दीर्घकालीन असरलाई वेवास्था नै गर्न खोजेको हो या, सत्य (तथ्य लुकाएर जनतालाई चुपचाप संकट भोगाउने नियत राखेको छ भन्ने प्रश्न उठ्न थालिसकेका छन् । तर पनि सरकार भने मौनता साँधिरहेको छ ।

भारत परिसक्यो थला, लुकाइयो सरकारी डेटा 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचार अनुसार छिमेकी मुलुक भारतले चाहिँ त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले तयार पारेको २०१७–०१८ को उपभोक्ता खर्च सर्वे डेटा सार्वजनिक नगर्ने निर्णय गरिसकेको छ । भारत सरकारले सर्वे डेटा गुणस्तरीय नभएको भन्दै त्यसलाई सार्वजनिक नगर्ने बताए पनि खासमा लुकाउनुको कारण भने अर्कै हो । यदी, त्यो बाहिर ल्याउने हो भने भारतीयको आर्थिक अवस्था खासमा कस्तो छ, त्यो कति भयावह छ भन्ने देखिन सक्छ । 

भारत सरकारले यसलाई लुकायो भने गएको १० वर्षमा भारतमा गरिबीको अवस्था कस्तो थियो भन्ने समेत अनुमान लगुना गाह्रो हुन्छ । सरकारले लुकेको डेटाको सूचना प्राप्त गरेको हवाला दिँदै बिजनेस स्टाडन्र्ड नामको पत्रिकाले बिगत ४० वर्षयता की सर्वाधिक कमजोर अवस्थामा भारतीय उपभोक्ता रहेको दाबी गरेको छ । समाचारमा जनाइएअनुसार हरेक भारतीय  नागरिकको प्रतिमहिना खर्च गर्ने क्षमता ३.७ प्रतिशतले घटेको छ । अझ ग्रामीण क्षेत्रका मानिसको ८.८ प्रतिशतले खर्च गर्ने क्षमता घटेको छ । 

भारतका आर्थिक विश्लेषकहरुले चाहिंँ मोदी सरकारले गरेको नोटबन्दी र नयाँ करका रुपमा लागू गरेको जीएसटीका कारण आर्थिक रुपमा आम भारतीयले भोगिरहेको संकटबारे खुलासा हुने दरले यस्तो निर्णयमा सरकार पुगेको हो । जे होस, भारतका नागरिक अहिले आर्थिक संकटको मार झेलिरहेका भने पक्कै छन् ।

अमेरिकालाई व्यापार युद्धको उल्टो लात्ती  
अमेरिकाको अन्तिम त्रैमासको आर्थिक सूचकहरु हेर्दा त्यहाँ लगभग शून्य प्रतिशतको मात्र आर्थिक वृद्धि देखिएको सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । चीनसँग अनावश्यक रुपमा व्यापार युद्ध गरेर आफैं अमेरिका कमजोर बनेको निष्कर्षसहित समाचार सार्वजनिक भइरहेका छन् । अहिले व्यापार युद्धको औचित्यता पुष्टि गर्न नसक्ने अवस्थामा अमेरिका पुगेको अवस्था छ ।

चीनसँग अब कसरी सम्बन्ध सुधार्ने भन्ने चिन्तामा अमेरिका रहिरहेको बेला त्यहाँको अर्थतन्त्रमा देखिएको कमजोरिले भने विश्वलाई नै चिन्तित पारेको छ । युरोपियन युनियनबाट बाहिरिने ब्रिटेनको निर्णयले युरोपमा आर्थिक समस्या शुरु भएको भन्दै त्यहाँ क्षतिपूर्ति माग भैरहेको छ। यावत घटनाले पुष्टि गरे झैँ  विश्व आर्थिक रुपमा संकटसँग जुध्दै गरेको बेला नेपाल भने आनन्दले यी सबै घटना र परिवेशसँग बेखबरझैँ ‘कुम्भकर्ण सुताई’ मै रहनुलाई कसरी हेर्ने र के रुपमा बुझ्ने भन्ने प्रश्न उठेको छ । स्मरण रहोस, ठूलो लगानी र प्रयत्नका बाबजुध भारतले आर्थिकमन्दीको क्रुरताबाट जोगाउन सकिरहेको छैन । त्यसैबाट मात्र पाठ सिक्ने हो भने पनि हामीले पछि जति दुःख पाउने र नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने हो त्यसमा केही कमि आउने थियो कि ?

  

प्रतिक्रिया दिनुहोस