म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी बजारमा १५ करोड रुपैयाँको लागतमा होटल बन्ने भएको छ । श्रेष्ठ होटल हटस्प्रिङ प्रालिले आइतवार होटलको शिलान्यास गरेको छ ।
१८ महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको होटलमा एट्याज रूमसहित ३२ कोठा, एउटा सभाहल, लिफ्ट र पर्याप्त पार्किङको सुविधा हुने सञ्चालक प्रमोद श्रेष्ठले बताए । तातोपानी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि पहिलोपटक ठूलो लगानीमा होटल बन्न लागेको हो ।
शिलान्यास कार्यक्रममा बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्द पौडेलले नयाँ बन्ने होटलले तातोपानी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । तातोपानीमा विदेशी पर्यटकलाई आकर्षित गर्न सुविधासम्पन्न होटलको आवश्यकता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी होटल तथा रेस्टुराँ व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले नयाँ बन्न लागेको होटलले समग्र जिल्लाको पर्यटनमा सहयोग पु¥याउने भन्दै निर्धारित समयमै होटलको निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस