aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन’ : प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
‘देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन’ :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट परेका छन् । मित्रराष्ट्र भारतले हालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका केही भूभाग अतिक्रमण गरेको विषयमा विभिन्न टीकाटिप्पणी र विरोध भइरहँदा प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

काठमाडाैंमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको बताए । मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भने, “दशकौँअघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएकोजस्तो गरेर प्रचार भइरहेको छ, यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।”

प्रधानमन्त्री ओलीले संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरूलाई पनि आफ्नो जमिन मिच्न नदिने स्पष्ट परे । कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महìवपूर्ण रहेको बताए ।

उनले भने, “कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएका छन्, हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ।” दशकौँअघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर अतिरिक्त देशभक्ति देखाउने नाममा उच्छृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस