
काठमाडौं । नवगठित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् सरकारले यस वर्ष ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ ।
जसमध्ये १६ हजार ५ सय मेट्रिक टन मोटा धान, ११ हजार ५ सय मेट्रिक टन मध्यम धान, १५ सय मेट्रिक टन जिरा मसिनो धान र ५ सय मेट्रिक टन बासमती धान खरिद गर्ने लक्ष्य राखेको हो ।
उक्त धान खरिद गर्न ७६ करोड रुपैयाँ विनियोजन गरेको कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् । अघिल्लो वर्ष पनि ३५ हजार मेट्रिक टन धान खरिद गर्न ९१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, लक्ष्यको २२ हजार ५ सय ९२ टनमात्रै खरिद भएको थियो । जसमा मोटा धान २८ सय मेट्रिक टन, मध्यम धान १९ हजार ७८७ मेट्रिक टन खरिद गरेको थियो भने जिरा मसिनो र बासमती धान खरिद नै नगरेको बताइन् । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकिएको थियो ।
पश्चिममा छिट्टै रोपाइँ भएकाले धान बजारमा आएको हो । बजार सन्तुलन र किसानलाई उचित मूल्य दिन सरकारले कात्तिक ७ गते धानको समर्थन मूल्य तोकेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यमको २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको छ । गत बर्षको तुलनामा यस वर्ष सिजनमा २०० रुपैयाँले बढेको छ । यी दुई धानको समर्थन मूल्य तोकिए पनि मन्त्रिपरिषद्को निर्णय कम्पनीले करिब दुई साता ढिला प्राप्त गरेको थियो । कम्पनीको बोर्ड बैठकबाट स्वीकृत गरी प्रक्रिया बढाउँदा केही लम्बिएको सुवेदीेले बताइन् । अब भने धान खरिद कार्य तीव्र रुपमा अगाडि बढ्ने उनको भनाइ छ ।
कम्पनीले धान खरिद गर्न थालेको छ । बिहीबारबाट नेपालगन्ज, राजापुर र धनगढीमा धान खरिद गर्न थालेको प्रवक्ता सुवेदीले जानकारी दिइन् । कम्पनीले १० वटा खरिद केन्द्रबाट धान खरिद गर्ने भएको छ । जसमा नेपालगन्ज, राजापुर, धनगढी, विर्तामोड, विराटनगर, लाहान, वीरगन्ज, जनकपुर, भैरहवा र महेन्द्रनगरबाट कम्पनीले धान खरिद गर्ने भएको छ ।
सरकारले धानको समर्थन मूल्य तोकेको २१ दिनपछि कम्पनीले धान किन्न थालेको सुवेदीले बताइन् । सुवेदीले भनिन्–‘शनिबारसम्म ३९ सय क्विन्टल धान खरिद भएको छ । गत वर्षको तुलनामा हेर्ने हो भने यस वर्ष अगाडि नै धान खरिद गर्न थालेका छांै ।’ हामीले पश्चिमबाट खरिद शुरु गरेका छौं, उनले भनिन्– ‘बर्दियाको राजापुरमा १०९६ क्विन्टल, धनगढीको कैलालीमा ९८९ क्विन्टल र नेपालगन्जमा १८१५ क्विन्टल खरिद भइसकेको छ ।’
कम्पनीका अनुसार बर्दियाको राजापुर, कैलालीको मोहनपुर, टीकापुर, जोशीपुर र भजनी क्षेत्रमा धान खरिद गर्न काँटा राखिएको छ । ती क्षेत्रमा मोटा धान खरिद भइरहेको छ । बाँकेमा भने मोटा र मध्यम दुवै धान खरिद भइरहेको छ । पश्चिममा धमाधम धान खरिद भइरहेको छ ।
पूर्वतिरका लागि पनि पत्राचार गरेको सुवेदीले बताइन । उनका अनुसार पूर्वमा अझै धान काट्न बाँकी रहेको रे काटेको पनि चिसो धान खरिद गर्दा गुणस्तरको समस्या हुन्छ । त्यसैले पूर्वमा धान खरिद गर्न केही ढिलाइ भइरहेको जानकारी सुवेदीले दिइन् ।
प्रतिक्रिया दिनुहोस