
बैतडी । कात्तिक पहिलो साता दशरथचन्द नगरपालिका–९ ग्वालेकमा चिलाउने–पार्सा सडक निर्माणका क्रममा विवादपछि एक्स्काभेटरको प्रहारबाट गाउँले घाइते भएको घटनाका एक जना आरोपी पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।
आफ्नो जमिन परेको भन्दै एक्स्काभेटर चलाउन रोक्ने पक्ष र डोजरलाई काम गर्न दिनैपर्छ भन्ने पक्षबीच विवाद हुँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन् । उनलाई एक्स्काभेटरको बकेटले हुत्याएको थियो । उक्त घटनामा चालकलगायत अन्य तीन जनाविरुद्ध प्रहरीमा किटानी परेको थियो ।
जाहेरीपछि पक्राउ गरिएका एक्स्काभेटर चालक किशोर बोहरा, एक्स्काभेटर धनी भवानीदत्त जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालत बैतडीले चालक बोहराबाहेक अन्य तीन जनालाई आइतबार ५०/५० हजार धरौटीमा छाडेको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका बोहरालाई कारागार चलान गरिएको प्रहरी निरीक्षक किसन चन्दले बताए ।
जग्गाधनी दुर्गादत्त जोशीलाई पनि डोजर चलाउन अवरोध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक शान्तिसुरक्षाविरुद्धको कसुर मुद्दामा उनलाई अदालतमा पेस गरे पनि आदेश आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस