aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सिद्धबाबा सुरुङमार्ग : लागत रू १० अर्ब १५ करोड, २ महीनाभित्रै टेण्डर आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
सिद्धबाबा सुरुङमार्ग : लागत रू १० अर्ब १५ करोड, २ महीनाभित्रै टेण्डर आह्वान

काठमाडौं । लामो समयदेखि योजनामा मात्रै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणको काम अब शुरू हुने भएको छ । अर्थ मन्त्रालयले सोमवार रू. १० अर्ब १५ करोडको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति दिएसँगै यो सुरुङमार्ग निर्माणको बाटो खुलेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सुरुङमार्ग निर्माण गर्न उक्त लगानी आवश्यक हुने भन्दै गत असोज १५ गते अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताका लागि अनुरोध गरेको थियो । सोहीअनुसार अर्थले सोमवार सोही बजेटको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । सुरुङमार्ग निर्माणका लागि ‘डिजाइन एण्ड विल्ड मोडालिटी’ अपनाइने भएको छ । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले अर्थको सहमतिसँगै सुरुङमार्ग निर्माणका लागि प्रक्रिया शुरू गरिने जानकारी दिए । उनले भने, ‘स्रोत सुनिश्चित भएकोले अब २ महीनाभित्र सुरुङमार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने गरी आवश्यक कार्य शुरू गर्छाैं ।’ उनले मन्त्रालय तथा विभागले यो सुरुङमार्ग निर्माणको योजना चालू आर्थिक वर्षमा समेत राखेको बताए ।

उक्त सुरुङमार्ग निर्माणका लागि गत साउनमा नेपाल र स्वीस कम्पनीले संयुक्त रूपमा अध्ययन गरी मन्त्रालयलाई प्रारम्भिक डिजाइनसहितको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाएको थियो । सोही डीपीआरलाई आधार मानेर भौतिक पूर्वाधार मन्त्रालयले अर्थसँग स्रोतको सुनिश्चितता माग गरेको थियो । उक्त डीपीआरअनुसार सडकसहितको कुल ३ किलोमिटर (किमी) सुरुङमार्ग बन्ने भएको छ । सुरुङमार्गको लम्बाइ १ दशमलव १२६ किमी रहेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस