aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘माथिल्लो त्रिशूली थ्री ए’को उद्घाटनसँगै राष्ट्रिय प्रसारण लाइनमा थपियो ६० मेवा विद्युत्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
‘माथिल्लो त्रिशूली थ्री ए’को उद्घाटनसँगै राष्ट्रिय प्रसारण लाइनमा थपियो ६० मेवा विद्युत्

काठमाडौं । भूकम्प, नाकाबन्दी, बाढीपहिरो तथा ठेकेदारको झमेला खेप्दै ९ वर्ष लगाएर पूरा भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना (६० मेवा) को सोमवार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिम्लेमा रहेको आयोजनाको उद्घाटन गर्नुभएको हो ।  

इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा निर्माण गर्न १४ जेठ २०६७ मा चाइना कचौपा ग्रूप अफ कम्पनिज (सिजिजिसी) स“ग यो आयोजना निर्माणको ठेक्का सम्झौता भएको थियो । सम्भmौताअनुसार १७ जेठ २०७१ मै आयोजना सम्पन्न हुन पर्ने थियो । तर विद्युत् गृह भूमिगत बनाउने कि सतहमा बनाउने, आयोजनाको क्षमता ६० मेगावाट हुने कि बढाएर ९० मेगावाट बनाउने जस्ता विवादका कारण ढिलाइ हुँदा आयोजनाको सम्पन्न गर्ने मिति १६ असार २०७३ राखिएको थियो । त्यसपछि आयोजनाले खेपेका भूकम्प, नाकाबन्दी तथा बाढी पहिरोका कारण म्याद थप गरी १७ वैशाख २०७६ पुर्‍याइएको थियो । 

निर्धारित मितिभन्दा करीब आधा महीना ढिलो गरी आयोजनाको पहिलो यूनिट (३० मेवा) ले गएको जेठ ३ गते परीक्षण उत्पादन थालेको थियो । त्यसैगरी, दोस्रो यूनिट (३० मेवा) ले साउन १७ बाट परीक्षण उत्पादन थालेको हो । 

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड रुपैयाँ ब्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनामा चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस