aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

तार भूमिगत गर्न टेलिकमसँग कार्यविधि माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
तार भूमिगत गर्न टेलिकमसँग कार्यविधि माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न १५ रुटका अव्यवस्थित तार भूमिगत गर्ने जिम्मा पाएको नेपाल टेलिकमसँग तार व्यवस्थापन गर्नेबारे विस्तृत कार्यविधि माग गरेको छ । गत कात्तिक २८ गते प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले इन्टरनेट तथा केबलको तार भूमिगत गर्ने जिम्मा टेलिकमलाई दिने निर्णय गरेको थियो ।

सो निर्णयसँग असन्तुष्ट इन्टरनेट सेवाप्रदायक संघ नेपालले कात्तिक २९ गते प्राधिकरणलाई पत्र पठाउँदै विना प्रतिस्पर्धा तथा निजी क्षेत्रको सहकार्यविना टेलिकमलाई तार भूमिगत गर्ने जिम्मा दूरसञ्चार ऐन विपरीत भएको बताएको थियो । प्राधिकरणले सोमवार कार्यविधि तयार पारी पेश गर्न टेलिकमलाई पत्राचार गरेको छ । कार्यविधि मागको पत्र टेलिकमलाई प्राप्त भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । 

उनका अनुसार कार्यविधिमा इन्फ्रास्ट्रक्चर शेयरिङलगायतका विषय समेटी प्राधिकरणलाई पेश गर्ने तयारी टेलिकमको छ । प्राधिकरणको योजनाअनुसार पहिलो चरणमा विमानस्थल–तीनकुने–कलंकी, विमानस्थल–जोरपाटी, चाबहिल–महाराजगञ्ज, सिंहदरबार–बालुवाटर–शीतल निवास रूटका अव्यवस्थित तार भूमिगत गरिनेछ ।  यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस