aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मेडिकल कलेजमा शंकास्पद लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
मेडिकल कलेजमा शंकास्पद लगानी

काठमाडौं । प्रधानमनन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मा-यो। निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो। उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमाथि छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ। विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेको मेडिकल कलेजहरूमा आधाजसो मेडिकल कलेजमा रहेको लगानी (प्रमोटर सेयर) को स्रोत नै शंकास्पद छ। विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरूलाई प्राथमिकतामा राखेर छापा मारेको हो। विभागले आइतबार मात्र नेसनल मेडिकल कलेज वीरगन्ज, नोबेल मेडिकल कलेज विराटनगर र चितवन मेडिकल कलेज भरतपुरमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो।

विभागले दोस्रो चरणमा गण्डकी मेडिकल कलेज पोखरा, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, प्रस्तावित बिएन्डसी मेडिकल कलेज झापा, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा छापा मार्ने तयारी गरिरहेको सोही विभागको उच्च स्रोतले नागरिकलाई बताएको छ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले सतर्कता केन्द्रलगायत विभिन्न निकायको सिफारिसका आधारमा निजी मेडिकल कलेजहरूमाथि छापा मारिएको स्पष्ट पारे। मेडिकल कलेजहरूमाथि लगानीको स्रोत नै शंकास्पद रहेको निष्कर्षसहित विभागले अनुसन्धान गरिरहेको भन्दै थप बोल्न उचित नहुने प्रतिक्रिया दिए। विभाग परिणाममुखी काम गर्न लागिपरेको उल्लेख गर्दै उनले उपयुक्त समय आएपछि सबै कुरा बाहिर आउने बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस