वीरगन्ज । वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्।
विभागबाट आएको टोली मेकिडल कलेजमा दिउँसो १ बजे नै छिरेको थियो। पर्सा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार आइतबारै राति साढे ९ बजे टोली त्यहाँबाट निस्किएको थियो। ९ घण्टे छापामा टोलीले कलेजसँग विभिन्न कागजात झिकाएर अध्ययन गरेको थियो। विभागका अधिकृतहरूको सो टोलीले मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको कार्यकक्षमै कागजात र फाइल झिकाएर अनुसन्धान गरेको कलेज स्रोतले जनाएको छ। सो क्रममा मेडिकल कलेजका चार्टर्ड एकाउन्टेन्टलाई समेत विभागको टोलीले उपस्थित गराएर सोधपुछ गरेको बताइएको छ।
मेडिकल कलेजहरूले विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी रुपैयाँ विभिन्न शुल्कको नाममा असुलेको भनेर खबर आइरहेकाले विभागको टोलीले छापा मारेको हो। केही साताअगाडि नेसनल मेडिकल कलेजमा विद्यार्थीले यसविरुद्ध प्रदर्शन गरेपछि कलेज प्रसाशनले बाउन्सर लगाएर आन्दोलनरत विद्यार्थीउपर दमन गराएको आरोप लागेको थियो। विभागको टोलीले शुल्कसम्बन्धी फाइल पनि झिकाएर अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस