काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाली धितोपत्र बजारमा अहिलेसम्मकै ठूलो सर्वसाधारण शेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । बैंकले आफ्नो जारी पूँजीको ४० प्रतिशत अर्थात् रू. ८ अर्ब मूल्यको ८ करोड कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ, जुन नेपाली धितोपत्र बजारमा सबैभन्दा ठूलो हुनेछ ।
हालसम्मको सर्वाधिक आईपीओ अपर तामाकोशीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरेर साढे २ करोडभन्दा बढी कित्ता जारी गरेको थियो । निफ्राको जारी पूँजी रू. २० अर्ब रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ, उक्त आईपीओ विक्री भएपछि बैंकको चुक्तापूँजी रू. २० अर्ब पुग्नेछ ।
आगामी मङ्सिर २९ गते काठमाडौंमा बैंकको प्रथम वार्षिक साधारणसभा हुँदै छ । बैंकले उक्त साधारणसभामा विशेष प्रस्तावका रूपमा आईपीओ निष्कासन गर्ने विषयलाई पेश गर्दै छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भूपेन्द्र पाण्डेले साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित भएलगत्तै थप प्रक्रिया अगाडि बढाइने बताए । साधारणसभाबाट पारित भइसकेपछि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्ने हुन्छ । यस्तै, रेटिङ एजेन्सीबाट आईपीओको रेटिङ गर्नुुपर्ने, शेयर बिक्री प्रवन्धक नियुक्ति गर्नुपर्नेजस्ता प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र बैंकले आईपीओ निष्कासन गर्न सक्नेछ ।
चालू आर्थिक वर्षभित्र नै आईपीओ निष्कासन गर्ने बैंकको लक्ष्य छ । डीसीईओ पाण्डेले भने, ‘साधारणसभाबाट स्वीकृति पाएलगत्तै हामी आवश्यक तयारीमा जुट्ने छौं । ७/८ महीनामा नै आईपीओ जारी हुनेछ ।’ यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस