कास्की । कास्की, पोखरा पर्यटकीय सहर । सानो जग्गामा पनि भवन खडा गरेर व्यावसायिकता दिने यहाँका प्रचलनले खेत, बारी मासिने क्रम बढ्दो छ । बारीमा तरकारी खेती गरेर आफू पनि खाने र बेच्ने भन्ने कल्पना गर्न पोखराभित्र कठिन भइरहेका बेला यहाँ कौसी खेती गर्ने प्रचलन बढ्दै छ ।
तरकारीको माग बढ्दै जानु तथा स्थानीय तहबाट आपूर्ति हुन नसक्दा यहाँ तरकारीको भाउ मुलुकका अन्य सहरभन्दा महँगो हुने गर्छ । त्यसैले पनि यहाँ आफ्नो पारिवारिक आवश्यकताका पूर्तिका लागि पनि कौसी खेती गर्न लागिएको हो । यसलाई प्रविधिशैलीे विकासका रूपमा लिन सकिन्छ ।
पोखरा–८ कृषि सञ्जालका संयोजक सरस्वती अधिकारीले कौसी खेतीबाट ८० प्रतिशत तरकारी जोहो गरेको बताउनुहुन्छ । दुई वर्षदेखि कौसी उत्पादन गर्दै आएकी अधिकारी खेतबारीमा भन्दा कौसीमा राम्रो तरकारी फलेको बताउनुहुन्छ । त्यसैगरी पोखरा–७ नागढुङ्गा विकास समाजमा आवबद्ध कृषकहरू घरमा आवश्यक तरकारीको ७० प्रतिशत उत्पादनले धानेको बताउँछन् ।
महानगरमा कौसी खेती गर्नेको सङ्ख्या एक हजार जना रहेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
विभिन्न तालिम तथा बीउलगायतका केही सामग्री महानगरले सहयोग गरेको र पछिल्लो समय एक घर एक कागती अभियान सुरु गरेको उनले बताए । कडहरीका अनुसार महानगरका १, २, ३, ४, ६, ७, ८, ९, १० र १७ गरी १३ वटा वडालाई खेतीका लागि लक्षित गरिएको छ । कास्कीमा ३० प्रतिशत उत्पादनले मात्र धान्ने गरेको र बाँकी भारतलगायत अन्य जिल्लाबाट आउने गरेको र कौसी उत्पादनले पनि केही मात्रामा आयत घटेको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस