aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपालबाट चोरी भएको मूर्ति अमेरिकी संग्रहालयमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
नेपालबाट चोरी भएको मूर्ति अमेरिकी संग्रहालयमा

काठमाडौं । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्।

उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो। कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ। मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ। १५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन्।

उक्त मूर्ति नेपालबाट चोरी भएका अनेकौं कलाकृतिमध्येको एक हो। नेपालबाट चोरी भएका यस्ता कलाकृतिलाई पश्चिमी मुलुकका संग्रहालय तथा लिलामीकर्ताले बहुमूल्य संग्रहका रुपमा प्रस्तुत गर्ने गरेका छन्।

नेपाल सरकार तथा अन्य सरोकारवाला निकायले चोरिएका कलाकृति फिर्ता ल्याउन लामो समयदेखि अभियान चलाइरहेका छन्। तर यो अभियान सफल भने हुन सकिरहेको छैन। ‘दी इन्टरनेसनल इन्स्टिच्युट फर दी युनिफिकेसन अफ प्राइभेट’ ले चोरिएका तथा अवैधरुपमा निर्यात भएका सांस्कृतिक वस्तुलाई सम्बन्धित मुलुकमा फिर्र्ता गर्न भन्दै सम्मेलनसमेत आयोजना गरेको थियो।

संस्कृतिविद् जगमान गुरुङ चोरी भएका सम्पदा सम्बन्धित मुलुकमा नै फिर्ता हुनुपर्ने बताउँछन्। ‘हाम्रा चोरी भएका कयौं मूर्ति अहिले पनि आफ्नो वास्तविक ठाउँको पर्खाइमा छन्। सरकारले त्यस्ता मूर्तिहरु फिर्ता ल्याउन महत्वपूर्ण रणनीति बनाउन आवश्यक छ,’ गुरुङले भने। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस