aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चालू आवमा व्यापार घाटा ३०७ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
चालू आवमा व्यापार घाटा ३०७ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले संकुचन भई ३०७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.४ प्रतिशत रहेको थियो । 

त्यस्तै यस अवधिमा कुल वस्तु आयात १०.३ प्रतिशतले घटेर ३३४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.२ प्रतिशत र १९.१ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुहरुको आयात घटेको छ ।

त्यसैगरी कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९.९ प्रतिशत र अन्य मुलुकतर्फ ११.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस