पेरिस (फ्रान्स) । अन्तरदेशीय आर्थिक संगठन इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले विश्व अर्थतन्त्र सन् २०१९ मा दशकयताकै सुस्त रहने प्रक्षेपण गरेको छ । बिहीवार ओईसीडीले गरेको प्रक्षेपणमा विश्वभरका केन्द्रीय बैंकहरू मुलुकमा लगानी भित्र्याउन असफल देखिएको कारण विश्व अर्थतन्त्र दशकअघिको आर्थिक संकटपछिको सबैभन्दा सुस्त रहने उल्लेख छ ।
यस वर्ष र सन् २०२० का लागि विश्व अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसअघि ओईसीडीले गत सेप्टेम्बर महीनामा विश्व अर्थतन्त्र सन् २०२० मा ३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । ओईसीडीले गरेको प्रक्षेपणमा सन् २०२१ मा भने विश्व अर्थतन्त्र ३ प्रतिशत बढ्ने उल्लेख गरिएको छ । तर, त्यसका लागि व्यापारयुद्धले कस्तो मोड लिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
ओईसीडीको प्रतिवेदनमा अहिले विश्वका मुलुकहरू जलवायु परिवर्तन, अर्थतन्त्रको डिजिटलीकरणलगायतका चुनौतीबाट पनि पार पाउन संघर्ष गरिरहेको उल्लेख छ । पछिल्लो समय बढ्दो अन्योलको कारण पनि विश्व अर्थतन्त्र प्रभावित बनेको ओईसीडीको निष्कर्ष छ । ओईसीडीले यस वर्ष अमेरिकाको आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि गत सेप्टेम्बरमा अमेरिकाको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । चीनको अर्थतन्त्र भने यस वर्ष ६ दशमलव २ प्रतिशतले बढ्ने अनुमान छ । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस