काठमाडौ । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोेजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।
चिनियाँ टोली मङ्गसिर ९ गते नेपाल आउने छन् भने १० गते काठमाडौंमा नेपाली र चिनियाँ टोलीको विस्तृत बैठक बसी प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ । महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाडौं आउन लागेको हो ।
महाशाखा प्रमुख सिग्देलले भनेऽ ‘‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे भएको ‘एमओयू’को ‘रेस्पोन्स’का रूपमा नेपाल र चीनबीचको यो उच्च स्तरी बैठक हुन लागेको छ, यो बैठकले सो रेलमार्ग निर्माणको सम्बन्धमा थप स्पष्ट कार्यदिशा तय गर्ने छ ।’’ केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस