
लन्डन । चिनियाँ टेलिकम कम्पनी हुवावेलाई तिब्र गतिको इन्टरनेट सेवा ९फाइब जी० को सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ ।
प्रधानमन्त्री थेरेसा मेले बुधबार यही आरोपमा रक्षामन्त्री ज्याभिन विलियम्सनलाई बर्खास्त गर्नुभएको थियो । बेलायतको राष्ट्रिय सुरक्षा परिषदको अप्रिल २३ मा बसेको बैठकमा भएको निर्णय सार्वजनिक हुनुमा प्रधानमन्त्री मेले रक्षामन्त्रीमाथि दोष लगाउनुभएको थियो ।
परिषदमा भएको छलफलमा बरिष्ट मन्त्रीहरु र सुरक्षा अधिकारीलाई मात्र सहभागी गराइन्छ । उनीहरुले सरकारी गोप्यता ऐन बमोजिम सपथ लिएर मात्र परिषद बैठकमा सहभागी हुन पाउँछन् । परिषदका कुनै पनि सदस्यले बैठकमा व्यक्त गरेका विचारलाई निजी रुपमा व्याख्या गर्ने प्रचलन छैन । कतिपय वरिष्ट विपक्षी नेताहरुले उक्त घटनाका बारेमा प्रहरी छानबिन हुनुपर्ने माग गरेका छन् ।
तर शनिबार एक वक्तव्य जारी गर्दै सहायक प्रहरी आयुक्त निल बसुले यस विषयको छानबिन अनुपयुक्त रहेको बताउनुभयो । प्रहरी अनुसन्धानले सरकारी गोप्यता ऐनको उल्लङ्घन भएको पर्याप्त प्रमाण फेला नपरेको पनि उहाँले जानकारी दिनुभयो । उक्त खुलासाले सार्वजनिक महत्वमा कुनै क्षति नपुगेको पनि उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस