aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुलुकको आम्दानीको स्रोत सुक्दै, ऋणको भार भने प्रत्येक वर्ष थपिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
मुलुकको आम्दानीको स्रोत सुक्दै, ऋणको भार भने प्रत्येक वर्ष थपिँदै

काठमाडौं । मुलुकको आम्दानीको स्रोत सुक्दै जान थालेको छ । तर, ऋणको भार भने प्रत्येक वर्ष थपिँदै गएको छ ।
मुख्यतया नेपालको आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र प्रत्येका व्यक्तिबाट असुल्ने कर हो । 

मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ । रेमिट्यान्स रकम गत आर्थिक वर्षको साउन, भदौ र असोजमा भन्दा यस वर्षको त्यही तीन महिनामा ३७.३ प्रतिशतले कमी आएको छ । यस वर्षको तीन महिनामा २ खर्ब ३० अर्ब २४ करोडमा मात्र रेमिट्यान्स आएको छ । मुलुकको मुख्य आम्दनीको यस्तो रकम घट्दै जानु शुभ संकेतका रुपमा लिन सकिदैन । 

यसैगरी सरकारले उठाउने राजस्व पनि ठूला व्यापारीले छल्ने गरेका कारण लक्ष्यअनुसार उठ्न सकिरहेको छैन । 
त्यस्तै नेपालमा उत्पादित सामान विदेश निर्यात गर्न नसकेका कारण व्यापार घाटा बढ्दै गएको छ । विदेशबाट करेसाबारीमा हुने धनियाँसमेत किनेर खानुपर्ने अवस्था छ । खाद्य पदार्थतर्फ हेर्ने हो भने धान मात्र प्रत्येक वर्ष १२ अर्ब भन्दा बढी भारतबाट खरिद गरिरहेका छौं । 

प्रत्येक व्यक्तिको आम्दानी जागिर वा व्यापारबाट हुने जस्तै मुलुकको आम्दानी रेमिट्यान्स, राजस्व र नेपालमा उत्पादन भएको बस्तु विदेश निर्यात गरे हुने हो । पछिल्लो समय त्यही खुम्चिदै गएको छ । तर, मुलुकको खर्च भने बढ्दै गएको छ । त्यो खर्चलाई धान्न विदेशबाट ऋण ल्याउनु परेको छ । त्यसरी ल्याउने ऋणको भार प्रत्येक नेपालीको काँधमा थपिँदै गएको छ । 

तीन वर्षमा प्रत्येक नेपालीको काँधमा दोब्बरले ऋण बढेर साढे ३६ हजार पुगेको छ । मुलुकको ऋण पौने ११ खर्ब पुगिसकेको छ । चालू आवको असोज मसान्तसम्म मुलुकले तिर्नुपर्ने ऋणको आँकडा १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । 

उक्त ऋणमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋणतर्फको रकम हो भने बाँकी ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक ऋण हो । नेपालीले काम नगर्ने तर ठूला गफ गरेर खाने बानी भएकाले नै यस्तो अवस्था आएको छ । सबैलाई शहरका मुख्य चोकमा घर र बिलासी गाडी चढ्नुपर्ने अवस्थाका कारण मुलुक यस्तो अवस्थामा पुगेको बिज्ञको भनाइ छ । 

स्वदेशमा काम नपाए पनि विदेश जाने र त्यहाँ काम गरेर नेपाल रकम पठाउने गरेका कारण मुलुकको आम्दानी बढ्दै गएको थियो । त्यो आम्दानीले खर्च धान्न सहज बनेको थियो । तर, पछिल्लो समय त्यसरी विदेशमा जाने नेपालीको कमी आएको छ । जसको असर मुलुकको आम्दानीको मुख्य स्रोत रेमिट्यान्समा परेको छ ।
 
नेपाल राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि ३.७ प्रतिशतले घटेको छ । यसले पनि मुलुकको मुख्य आम्दानी रेमिट्यान्स घट्न पुगेको विज्ञको भनाइ छ । 

पछिल्ला वर्षमा रोजागारीमा जाने नेपालीको संख्या घटदै गएको छ  । यो वर्ष गत वर्ष जति पनि रेमिट्यान्स नेपाल नभित्रने हो कि भन्ने चिन्तामा बिज्ञहरु देखिन्छन् । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको थियो  । त्यसमध्ये करिब २ खर्ब रुपैयाँ भारतबाट मात्र आएको थियो  । यो वर्ष छिमेकी मुलुक भारत जाने क्रममा पनि कमी आएको देखिन्छ । 

अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत देश गएका नेपालीले त्यही घरजग्गा किन्ने र उत्तै रकम राख्न थालेकाले पनि रेमिटयान्स कमी आउन पुगेको बिज्ञहरुको भनाइ छ । 

खाडी राष्ट्रको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ  । तर, उता कमाएको पैसा उतै राख्न थालेपछि मुलुकको आम्दानीको ठूलो हिस्सामा असर परेको छ । यसले गर्दा नेपालले आगामी दिनमा अझै ठूलो मूल्य चुकाउनुपर्ने र नेपालको अर्थतन्त्र डामाडोल हुने बिज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस