aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

३५ जनाले मात्र लिए शैक्षिक कर्जा, बैंकर भन्छन् ऋण लिन आउने ग्राहक नै कम छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
३५ जनाले मात्र लिए शैक्षिक कर्जा, बैंकर भन्छन् ऋण लिन आउने ग्राहक नै कम छन्

काठमाडाैं । पछिल्लो एक वर्षमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ३५ जनाले मात्र सहुलियत ऋण सुविधा पाएका छन् । एक वर्षअघि शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ऋण दिन सकिने व्यवस्था सरकारले ल्याएको थियो।

'शिक्षित युवा स्वरोजगार कर्जा' नामक उक्त कार्यक्रम लागू भएको पनि करिब ११ महिना पुगिसकेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ३५ जनालाई मात्र यस्तो कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यो गत असोजसम्मको तथ्यांक हो।

सरकारको निर्देशनमा राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार कर्जासहित सात प्रकारका सहुलियत दरका कर्जा कार्यक्रम ल्याएको छ। ती सबै कर्जामा सरकारले ऋणीलाई पाँच प्रतिशत ब्याज अनुदान दिन्छ । उल्लिखित सहुलियत दरको कर्जामध्ये युवा स्वरोजगार कर्जामा सबैभन्दा कम ऋण प्रवाह भएको छ ।

यो माध्यामिक शिक्षा वा सोसरह उत्तीर्ण गरी ४० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई प्रवाह गरिने कर्जा हो । यो कार्यक्रम अनुसार योग्यता पुगेका ऋणीले प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म ऋण पाउँछन । आफुले प्राप्त गरेको शक्षिक प्रमाणपत्र धितो राखेर यो कर्जा पाइन्छ ।

शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिन आउने ग्राहक नै कम रहेकाले धेरै ऋण प्रवाह नभएको हुन सक्ने बैंकरहरूले जनाएका छन् । 'ऋण लिन नै आउँदैनन्, आएकासँग पनि व्यवसायका लागि विश्वास गर्ने आधार निकै कम भेटिएका छन्,' एक बाणिज्य बैंकका प्रमुख कार्यकारीले भने, 'राम्रो व्यावसायिक योजना लिएर आउनेलाई ऋण दिन समस्या हुँदैन । त्यस्तो ऋणको अनिवार्य बिमा (सुरक्षण) हुने भएकाले जोखिम कम हुने ती अधिकारीले बताए। याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस