aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विदेशी लगानीमा फड्को: १५९ प्रतिशतले बढ्यो लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
विदेशी लगानीमा फड्को: १५९ प्रतिशतले बढ्यो लगानी

काठमाडौं । गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ ।

लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपियाँ भित्र्याएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो ।

गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४/७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो ।
 

पर्यटकको खर्च पनि बढ्यो
विदेशी लगानीसहित यात्राबापत नेपाल भित्रिने रकममा पनि वृद्धि आएको छ । पर्यटकले नेपालमा गर्ने खर्चका रूपमा आउने यस्तो रकम १६.५ प्रतिशतले बढेर तीन महिनामा १८ अर्ब २८ करोड रुपियाँ पुगेको छ । गत आवको तीन महिनामा यो शीर्षकमा नेपालले १५ अर्ब ६९ करोड रुपियाँ प्राप्त गरेको थियो ।

यति मात्र होइन यात्रा र शिक्षाबापत नेपालबाट बाहिरिने रकम भने घटेको छ । अघिल्लो वर्षको असोजसम्म २९ अर्ब ४९ करोड रुपियाँ यात्राबापत नेपालबाट बाहिरिएकोमा २८.१ प्रतिशतले घटेर २१ अर्ब २१ करोड रुपियाँ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस